वीरगंजका वासिहरु स्वस्थ्य रहून्, निरोगी रहुन् भन्ने उद्देश्यका साथ आइतबारदेखि वीरगंजमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ ।

वीरगंज महानगरपालिका वडा नं. ३० लालपर्साबाट सुरु गरिएको घरदैलो स्वास्थ्य कार्यक्रममा गर्भवती महिलाको परीक्षण, गर्भवती महिलाको लागि भिडियो एक्सर, प्याथोलोजी ल्याब, जेनरल परीक्षण, ईसिजी सेवासहित निःशुल्क औषधिसमेत वितरण गरिने नगर प्रमुख राजेशमान सिंहले जानकारी दिएका छन् । मेयर घरदैलो स्वास्थ्य कार्यक्रममा एमबीबीएस चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीको टोली रहेको छ ।

महिलाहरुले आफ्नो स्वास्थ्य समस्या निर्धक्क भएर राख्न सकुन भन्ने उद्देश्यले ‘चिकित्सक र स्टाफ नर्स महिला नै राखेका छौँ,’ मेयर सिंहले जानकारी गराए । चिकित्सकको सिफारिसमा महिलाहरुलाई पोसिलो खानाको समेत व्यवस्था गरिएको छ । वीरगन्ज महानगरपालिकामा पछि जोडिएको १६ वटा वडा ग्रामीण वस्ती हुन् । ग्रामीण वस्तीका वासिन्दालाई उपचारका लागि वीरगन्ज आउन कठिनाइ हुने गरेको हुनाले वडामै स्वास्थ्यचौकी भएपनि स्थानीय दुःख गरेर वीरगन्ज नै उपचारका लागि आउने गरका छन् ।

हरेक वडामा रहेको स्वास्थ्यचौकीमै सबै सेवा उपलब्ध हुन्छ भन्ने जानकारी गराउन पनि हामीले यो अभियान थालेका हौँ,’ मेयर सिंहले भने, ‘गर्भवती महिलाको डेलिभरीदेखि लिएर हरेक उपचार स्वास्थ्यचौकीमै हुन्छ, उपचारका लागि वीरगन्ज आईराख्नु नपर्ने मेयरले जानकारी गराए । स्वास्थ्यचौकी व्यवस्थित गर्ने योजनासमेत रहेको महानगरपालिकाले जनाएको छ ।