भारतबाट चोरीपैठारी गरी भन्सार छलेर नेपाल भित्र्याइएको २ च ४६९७ नम्बरको बोलेरो गाडीसहित गाडीमा लोड गरेर ल्याइएको रेडबुल ११२ कार्टुन (३०० पिस ) र बदाम जुस १५४ कार्टुन (१८४८ पिस) सामानसहित रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २ बाट दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक वेदबहादुर पौडेलका अनुसार गाडी चालक कास्कीको पोखरा महानगरपालिका–२३ का २७ वर्षीय दामोदर चापागाईं र गाडीमा सवार स्याङ्जाको वालिङ नगरपालिका–१४ का २८ वर्षीय विशाल तिवारी पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद समानको मूल्य १० लाख १५ हजार १२० पर्ने प्रहरीको अनुमान छ ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।