भारतीय गाडीमा लोड गरिएको भारी मात्रामा लागू औषध गाँजा सशस्त्र प्रहरी पर्साले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले वीरगन्ज महानगरपालिकाको वडा नं. २४ बहुअरी चोकमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

परवानीपुर सडक खण्ड स्थित पवनपुत्र पेट्रोल पम्प नजिक बहुअरी चोकमा रोकि राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रकलाई चेकजाच गर्दा १४३ केजी ५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सन्तोष कुमार बस्नेतले जनाएका छन् ।

चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा विशेष सूचनाको आधारमा गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले फेला पारेको बस्नेतले जनाए ।

नियन्त्रणमा लिएको ट्रक र गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा लाइ बुझाइएको उनले जानकारी दिए ।