पर्सा, वैशाख १२ – सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याइएको औषधि, अटो र मोटरसाइकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
स.प्र.ना.उ. लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२४, रामगढवा स्थित वीरगञ्ज पाठशाला अगाडिको सडकबाट ना २ स १०१७ नम्बरको अटोमा लोड गरिएको १० वटा कार्टूनमा प्याक गरिएका Lycopene with Multivitamin & Multiminerals (NUTRI-CURE) Capsule का ४८० डब्बा (४,८०० पत्ता) बरामद गरेको हो । उक्त औषधि अवैध रूपमा भारतबाट ल्याइएको थियो ।
साथै सोही कार्यमा संलग्न भएको आरोपमा वीरगञ्ज म.न.पा.–२५, सिर्सिया गाउँ निवासी ३६ वर्षीय अमृत साह कानु लाई अटो चालकसहित पक्राउ गरिएको छ । उनी प्रयोग गर्दै आएको अटोका साथै HERO कम्पनीका SLIVER COLOUR को BR05AR2690 नम्बरको Glamour र BLACK COLOUR को BR05AM6462 नम्बरको Hero Splendor मोटरसाइकल पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सवारीसाधनहरूको मूल्य रु. ६,००,०००।– र औषधिको मूल्य रु. ९,६०,०००।– रहेको हुँदा जम्मा रु. १५,६०,०००।– बराबरको सामान र व्यक्ति नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।