कार्तिक ७, काठमाडौं — नयाँ पुस्ता जेन–जी (Gen Z) का युवाहरुले एकता र देशप्रेमको सन्देशसहित माईतीघर मण्डलामा शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
‘जेन–जेड युनाइटेड (Gen Z United)’ नामक समूहको आयोजनामा भएको प्रदर्शनमा सहभागी युवाहरुले शहीदहरुको बलिदान सम्झना गर्दै र राष्ट्रिय एकताको सन्देश फैलाउँदै एकताबद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा बालबालिका, विद्यार्थी, तथा शहीद परिवारका सदस्यहरु समेत सहभागी थिए । उनीहरुले हातमा ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्सौं’, ‘देशका घाउ हाम्रो जिम्मेवारी’ जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए ।
सहभागी जेन–जी युवा आनन्दमान साम्पाङले देशको विकास र समृद्धिको लागि सबै नयाँ पुस्ता एक भएर अघि बढ्नुपर्ने बताए । “हामी शहीदका सपनाहरू पूरा गर्न एक हौं, नकारात्मक सोच फैलाएर हामीलाई विभाजित नगर्न सरकार र मिडियालाई आग्रह गर्दछौं,” उनले भने ।
प्रदर्शनकारीहरुले नेपाली झण्डा शरीरमा ओढी शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए । उनीहरुले जेन–जी पुस्तालाई राष्ट्र निर्माणमा सकारात्मक भूमिकासहित एकतावद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् ।