३० असोज बीरगञ्ज -काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ ।

पशुपति गौशाला धर्मशालामा पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेकाले उक्त हस्तक्षेप रोक्ने माग गर्दै वीरगन्जका मारवाडी समुदायले वीरगन्जमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

मारवाडी सेवा समिति नेपाल अन्तर्गत वि. सं. १९९७ साल देखि संचालित श्री पशुपति गौशाला धर्मशाला काठमाडौं वचाउ अभियान सम्बन्धी आज मिति २०८१/०६/२९ गते मारवाडी सेवा समितिले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

२०६० सालमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भएको थियो । 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । त्यसपछि समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाउँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मारवाडी समुदाय सम्बद्ध विभिन्न संघसंगठनहरुले मंगलबार वीरगन्जमा शान्तिपूर्ण जुलुश निकालेर प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।मारवाडी समाज सेवक संघ,मारवाडी सेवा ट्रष्ट,टिबडेवाल धमार्थ ट्रष्ट,वीरगन्ज–जीतपुर गौशाला,जैन श्वेताम्भर सभा र महेश्वरी समाज वीरगन्जले संयुक्त रुपमा आदर्शनगरस्थित राणीसती धर्मशालाबाट शान्तिपूर्ण जुलुश निकालेर जिल्ल प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

श्रीपशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । सम्झौता–पत्रमा सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँ तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र श्रीपशुपतिनाथमा पर्व पर्वमा छाडिएका साँढेहरूलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख छ । सम्झौता अनुसार समितिले अहिले पनि वार्षिक ५१ हजार रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउँदै आएको छ ।