वीरगंज, असोज ६।
वीरगंज महानगरपालिका–१७, अलौ पोष्ट नजिक सशस्त्र प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा १.९८५ किलोग्राम गाँजासहित एक वृद्ध पक्राउ परेका छन् । शुक्रबार बिहान करिब ८:५० बजे सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कुमार कार्कीको नेतृत्वमा खटिएको पाँच सदस्यीय गस्ती टोलीले सो कार्यवाही गरेको हो ।
पक्राउ पर्ने व्यक्ती पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२६, अठराहा निवासी ७४ वर्षीय ईस्लाम अन्सारी रहेका छन् । उनले साइकलबाहक झोलामा लुकाइराखेको गाँजा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
घटनास्थलमै नियन्त्रणमा लिइएका अन्सारीलाई साइकसहित प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौमा ल्याइएपछि प्रारम्भिक अनुसन्धान पूरा गरी नेपाल प्रहरीको वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिएका छन् ।
सीमाक्षेत्रमा कार्यभार सम्हालेदेखि नै डीएसपी सुरज कुमार कार्कीले सशस्त्र प्रहरी टोलीको परिचालनलाई सुदृढ बनाउँदै तस्करी, अवैध ओसार–पसार र गैरकानुनी गतिविधिमा कडा निगरानी राख्दै आएका छन् ।
स्थानीयवासीहरूले डीएसपी कार्कीको सक्रियता, अनुशासन र कार्यशैलीको प्रशंसा गर्दै सीमाक्षेत्रमा शान्ति, सुरक्षा र कानूनको शासन बलियो बनेको बताएका छन् ।
सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्ला दिनमा सीमाक्षेत्रमा तस्करीजन्य अपराधमा उल्लेखनीय कमी आएको र यसले नेपाल–भारत सीमामा सुरक्षाको विश्वासनीयता थप मजबुत बनाएको देखिएको छ ।