वीरगंज, ५ मंसिर २०८१, बुधबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगञ्जका होटलहरूको खाद्य स्वच्छता, भान्साको सरसफाइ, खाद्यजन्य वस्तुको भण्डारण र कोल्ड चेन व्यवस्थापनको अनुगमन गर्दै वीरगन्जको सरोवर प्रोटिको होटल सहित तीन होटललाई ‘अति उत्तम’ (३ स्टार) खाद्य स्वच्छता प्रमाणीकरण प्रदान गरेको छ ।
अनुगमन टोलीको नेतृत्व खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहले गरेका थिए। टोलीले १० वटा होटलको भान्सा, भण्डारण विधि, प्रयोग गरिएका तेलको गुणस्तर र अन्य खाद्य स्वच्छता मापदण्डको गहिरो जाँच गरेको थियो ।
अनुगमनबाट सरोवर प्रोटिको होटल, होटल लर्डस् दियालो, र भिस्वा होटललाई उत्कृष्ट खाद्य स्वच्छता स्तरका रूपमा वर्गीकरण गरी प्रमाणित गरिएको छ । यी होटललाई प्रमाणपत्र नवीकरणसहित लोगो वितरण गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार, यो प्रक्रिया होटल व्यवसायमा खाद्य स्वच्छताप्रति थप सजगता ल्याउन सहयोगी हुनेछ। अनुगमनको क्रममा बाँकी होटललाई पनि आवश्यक सुधारका सन्देश दिइएको छ ।
खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राख्दै यस प्रकारको नियमित अनुगमनले उपभोक्ताको स्वास्थ्य र विश्वासलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।
अनुगमन टोलिमा वाणिज्य कार्यालय वीरगञ्जका सुनिल चौरसिया , वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास, वीरगञ्ज महानगरका प्रतिनिधि बिभा मिश्रलगायत जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको पनि उपस्तिथि थियो ।