४ भदौ पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण मुख्यालय पर्साका गणपति (एसपी) पुरण चन्द्र भट्टको नेतृत्वमा पछिल्ला दुई दिनमै गरिएको विशेष कारबाहीबाट रु. २२,४१,२४० बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिएका छन् ।
स्पेयर पार्टसदेखि कपडा र मदिरासम्म बरामद
भदौ २ गते (२०८२।०५।०२) सशस्त्र प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले बीरगंज महानगर–१५, भिष्वा चोकबाट भारततर्फबाट अबैध रुपमा ल्याइएका सवारीसाधनका इन्जिन स्पेयर पार्टस (मूल्य रु. ११,८३,०००) नियन्त्रणमा लिएको छ।
त्यसैदिन, विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज तथा भन्सार कार्यालयको संयुक्त टोलीले बी.म.न.पा.–०६, रेल्वेरोडस्थित गोपालजी साहको घरमा भण्डारण गरिएका कपडा र बी.म.न.पा.–१०, आदर्शनगरस्थित शंकर प्रसाद रौनियरको घरमा राखिएका किराना सामान (मूल्य रु. ३,६०,६३०) बरामद गरेको छ।
ई–रिक्सा सहित घरेलु मदिरा बरामद
भदौ ३ गते (२०८२।०५।०३) सोही गुल्मको अर्को टोलीले बी.म.न.पा.–१५, बसपार्क नजिक मधेश प्रदेश ००१ ह १२२४ नम्बरको ई–रिक्सामा लोड गरी नगुवातर्फ लैजाँदै गरिएको ६१५ लिटर घरेलु मदिरा (मूल्य रु. ६१,५००) नियन्त्रणमा लिएको हो।
साथै, उक्त कार्यमा प्रयोग भएको ई–रिक्सा (मूल्य रु. २,५०,०००) सहित चालक कृष्ण पटेल (उमेर करिब ३० वर्ष, ठेगाना: बी.म.न.पा.–१६, नगुवा) लाई समेत नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउने तथा बरामद मदिरा नष्ट गर्ने तयारी भइरहेको छ।
त्यस्तै, बीओपी ड्राईपोर्टबाट खटिएको टोलीले बी.म.न.पा.–२५, सिर्सियाबाट रु. १८,११० बराबरको कपडा नियन्त्रणमा लिएको छ।
मोबाइल पार्टस समेत बरामद
सोही दिन, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बी.म.न.पा.–१७, आईसीपी गेटबाट भारतबाट ल्याइएका मोबाइल पार्टस (मूल्य रु. ४,२९,५००) नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ।
“सिमा सुरक्षामा कठोर कदम” – गणपति एसपी भट्ट
सशस्त्र प्रहरी बल , नेपाल नं.१३ गण हेडक्वाटर पर्साका गणपति (एसपी) पुरण चन्द्र भट्टले सशस्त्र प्रहरी बलको यो कारबाही तस्करी नियन्त्रणमा दृढ प्रतिबद्धताको उदाहरण भएको बताए।
“हामी निष्ठा, समर्पण र कर्तव्यपरायणताको साथ सीमाक्षेत्रलाई सुरक्षित बनाउन प्रतिवद्ध छौँ। तस्करी जस्तो अवैध क्रियाकलापलाई पूर्ण रुपमा नियन्त्रण गर्न सशस्त्र प्रहरी बल अझ कडाइका साथ अगाडि बढ्छ,” – एसपी भट्टले भने।
यी सफल अपरेसनहरूले सशस्त्र प्रहरी बल पर्साको क्षमता र कार्यदक्षतालाई प्रमाणित गरेको छ। यसले सशस्त्र प्रहरी मात्र नभई सम्पूर्ण सुरक्षा निकायलाई तस्करी नियन्त्रणमा अझ कठोर र संयोजित ढंगले काम गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।