साउन ४, बीरगंज ,पर्सा — सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत आज शनिवार बीरगंज महानगरपालिका वडा नं.२४ रामघढवास्थित बजरंग हलको पूर्व र पश्चिमतर्फको सडक किनारमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
राष्ट्रिय चुरे–तराई मधेश संरक्षण विकास समिति, बीरगंज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त आयोजनामा, र फ्रेन्ड्स क्लब अफ रामघढवा बीरगंज पर्साको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता जयप्रकाश खेतानले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र रहेका थिए । फ्रेन्ड्स क्लब अफ रामघढवाका अध्यक्ष सन्दिप चौरसियासहित स्थानिय समुदायका सदस्यहरू पनि कार्यक्रममा सक्रिय रूपमा सहभागी भएका थिए ।
बीरगंज महानगरका प्रहरी प्रमुख हरि भुसाल लगायत अन्य अधिकारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले “जहाँ खाली, त्यहाँ हरियाली” भन्ने नाराका साथ विगत १२ वर्षदेखि पर्सा जिल्लाका विभिन्न स्थानहरूमा निरन्तर वृक्षारोपण गर्दै आइरहेको जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय पर्सा जिल्लामा बढ्दो गर्मी र पानीको अभावले उत्पन्न समस्यालाई सम्बोधन गर्न वृक्षारोपण नै दिगो समाधान भएको विचार व्यक्त गर्नुभयो । उहाँको दीर्घदृष्टि र हरियाली अभियानप्रतिको समर्पणको कार्यक्रममा सहभागी सबैले प्रशंसा गरेका थिए ।
वातावरण संरक्षण, तापमान नियन्त्रण, र स्वच्छ वातावरण निर्माणमा वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम अन्तर्गत करिब ६० वटा विभिन्न जातका बिरुवाहरू सडक छेउछाउमा रोपिएको हो ।