पर्सा, साउन ४ — नेपाल मुस्लिम समाज संघ, पर्साको आयोजनामा एक कार्यक्रमबीच नेपाल सशस्त्र प्रहरी बल नम्बर १३ गण, पर्साका निवर्तमान गणपति राधेश्याम धिमाललाई सम्मानपूर्वक बिदाइ गरिएको छ भने नव नियुक्त गणपति पुरन चन्द भट्टलाई हार्दिक स्वागत गरिएको छ ।
संघका अध्यक्ष महबुब अलि (शेरु आलम) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष आलमले पूर्व गणपति धिमाललाई गम्छा ओढाई मायाको चिनो दिई भावपूर्ण बिदाइ गरेका थिए । उनले धिमालको कार्यकालमा समुदायसँगको समन्वय र सहकार्यलाई उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, नव नियुक्त गणपति पुरन चन्द भट्टलाई पनि गम्छा ओढाई स्वागत गरियो । अध्यक्ष आलमले नयाँ गणपतिसँग समेत आपसी समझदारी, शान्ति र सद्भाव कायम राख्दै समुदायको सुरक्षामा संयुक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै संघका अन्य पदाधिकारीहरुले सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै समाज र सुरक्षाकर्मी बीचको आपसी सहयोग अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए ।