६ माघ बीरगंज - अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पूर्वी चम्पारण जिल्लाको पन्टोका ग्राम पञ्चायत वडा नम्बर १ भलुवाहा बस्ने ३८ वर्षीय विशेश्वर यादव पक्राउ परेका हुन् ।
विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ ।हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै भारतीय तथा नेपालीले विदेशबाट पैसा ल्याउने र पठाउने कार्य गर्दै आइरहेका छन् । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो ।
सशस्त्र प्रहरी बल , नेपाल नं.१३ गण हे. क्वा पर्साको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको चेकपोइन्ट ड्युटी टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको मेन गेट अगाडि भारतको रक्सौलबाट नेपालतर्फ बा ४१ प ८४९३ नम्बरको हिरो होन्डा ग्लाइमर मोटरसाइकल चढेर आइरहेको अवस्थामा मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बडीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ ६,०५,१८५ रकमसहित उनी पक्राउ परेका हुन् ।
उनको साथबाट स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ ६,०५,१८५ नगद, रू .२,००,००० मोटरसाइकल लगायत रू. २५,००० गरि रू.८,३०,१८५ मूल्य सहित यादब लाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले जानकारी दिए ।
विगत लामो समयदेखि नै हुण्डी कारोबारीहरूको बिगबिगी बढेको पाईन्छ ।कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् ।विभिन्न सञ्जाल मार्फत हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरिएको देखिन्छ ।