९ साउन बीरगंज – बीरगंज महानगरपालिकाको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा डेनवान सरसफाई अभियान र डुंगा सञ्चालन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।

महानगरपालिका भित्र पर्ने डेन वन नालामा तीन महिना अघिदेखि नगर प्रमुख राजेशमान सिंहको विशेष आदेशमा सुरु गरिएको निरन्तर सरसफाई कार्यले अब उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यस अभियानलाई थप प्रभावकारी र दिगो बनाउने उद्देश्यका साथ नालाभित्र ढुंगा प्रयोग गरिएको छ, जुन नाला सफाईमा सहयोगी सिद्ध भएको नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार नालामा प्रयोग गरिएको ढुंगा सरसफाईका दृष्टिकोणले निकै प्रभावकारी देखिएको छ, जसले अवरोध भएको पानीको सहज बहावमा सहयोग पुर्‍याइरहेको छ । परीक्षण सफल भएपछिको चरणमा अब छिट्टै यसको औपचारिक उद्घाटन गरिने समेत मेयर सिंहले जनाउनु भयो ।

यस अभियानमा निरन्तर लाग्नु भएका ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेताङले भन्नुभयो, "नाला सरसफाईमार्फत यो वर्ष वर्षातको समयमा बीरगंजवासी जलजमावको समस्याबाट धेरै हदसम्म मुक्त हुनेछन् । यो महानगरवासीप्रति हाम्रो प्रतिबद्धताको परिणाम हो ।"


तीन महिना लामो निरन्तर परिश्रम, योजना र समर्पणले बीरगंजको सहरलाई सरसफाइको दृष्टिले उदाहरणीय बनाउने दिशामा अगाडि बढाएको छ ।

बीरगंजलाई हरियाली र स्वच्छ बनाउने लक्ष्यसहित भारतको रक्सौल नाकादेखि वीरगंजको जिल्ला हुलाक कार्यालयसम्म फैलिएको सरसफाइ अभियान तथा डेनवान नालामा डुंगा सञ्चालन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख राजेश मान सिंह ज्यू हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता जय प्रकाश खेतान ज्यूले गर्नुभएको थियो ।

कार्यक्रमले बीरगंजवासीलाई स्वच्छता र वातावरण संरक्षणमा अझ बढी जागरुक बनाएको छ । बीरगंज महानगरपालिका तथा ग्रीन सिटी सहभागी सबैले अभियानलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।