मंसिर - २, वीरगञ्ज

वीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित रेलवे रोड छेउमा छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा आएको छ। बजार सञ्चालनमा आएसँगै स्थानीय क्षेत्रमा खुशीको माहोल छाएको छ ।

यस थोक बजार सञ्चालन भएपछि किसान, व्यापारी तथा उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी स्थानीय किसानहरूले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्न पाउने, उचित मूल्य प्राप्त हुने र उपभोक्ताहरूले ताजा तथा गुणस्तरीय तरकारी तथा फलफूल एकै स्थानमा उपलब्ध पाउने विश्वास व्यक्त गरेका छन् ।

हाल सञ्चालनमा आएको बजार व्यवस्थित तथा सुरक्षित रहेको जनाइएको छ । बजार क्षेत्रमा आवश्यक व्यवस्थापन, सरसफाइ तथा सुरक्षाका प्रबन्ध मिलाइएको हुँदा व्यापारिक गतिविधि सहज रूपमा सञ्चालन भइरहेको छ ।

स्थानीयवासीहरूले वीरगञ्ज महानगरपालिकाले लिएको यस पहललाई अत्यन्तै सकारात्मक र समयसापेक्ष कदमको रूपमा सराहना गरेका छन् । बजार सञ्चालनले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा व्यवस्थित बजार प्रणाली विकासमा सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

महानगरपालिकाले आगामी दिनमा पनि बजारलाई थप व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।