असोज -०२, पर्सामा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणमा सक्रियता बढाउँदै लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका अनुसार जिल्ला पर्साको पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवा क्षेत्रमा सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा रु. १० लाख ५८ हजार ५४० बराबरका विभिन्न किसिमका कपडा बरामद गरेको हो ।
गाई–भैँसीको भुसा राख्ने गोठमा अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा दाखिला गरिएको छ।
त्यसैगरी, सोही दिन वीरगञ्ज महानगरपालिका–१, नैकाटोला क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको पाँच जनाको गाडी मोबाइल टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको रु. ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि दुई जना व्यक्तिले टाउकोमा बोकेर ल्याउँदै गरेको मोबाइल पार्ट्स छाडेर फरार भएका थिए । बरामद सामानलाई आवश्यक कारबाहीका लागि सोही दिन साँझ वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
दुवै घटनामा गरी सशस्त्र प्रहरीले रु. १७ लाख ५६ हजार ९९० बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि, भन्सार छली तथा चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीको निरन्तर निगरानी र सक्रियताले सकारात्मक परिणाम देखाएको स्थानीय स्तरमा चर्चा हुन थालेको छ । विशेषगरी सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप बस्नेतको कुशल कार्यशैली, प्रभावकारी कमाण्ड र टोली परिचालनलाई सीमा सुरक्षामा देखिएको सक्रियतासँग जोडेर प्रशंसा गरिएको छ ।
त्यस्तै, बीओपी सिर्सियाबाट परिचालित मोबाइल टोलीको सक्रियता र चनाखोपनले भन्सार छली गरी नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको मोबाइल पार्ट्स नियन्त्रणमा लिन सफल भएको भन्दै सशस्त्र प्रहरीको कार्यसम्पादनप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा सूचना संकलन, नियमित गस्ती तथा शंकास्पद गतिविधिमाथि निगरानीलाई थप प्रभावकारी बनाउँदै लैजाने हो भने अवैध चोरी–पैठारी नियन्त्रणमा अझ प्रभावकारी सफलता हासिल गर्न सकिने देखिन्छ ।
सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश चन्द्र भट्टले बरामद गरिएका दुवै प्रकारका सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन् ।