वीरगन्ज, ३ साउन ।

मनसुन सक्रिय भएसँगै उत्पन्न हुन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको पूर्वतयारीलाई तीव्र पार्न वीरगन्ज महानगरपालिकाले आफ्नो सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा (हाई अलर्ट) राखेको छ । मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गरी नगरवासीको सुरक्षा सुनिश्चित गर्न महानगरपालिकाले शनिबार एक आकस्मिक बैठक गरी विभिन्न चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

​वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठकले मनसुन पूर्वतयारी, स्थलगत अनुगमन, स्वास्थ्य सेवा व्यवस्थापन र वडा कार्यालयहरूलाई तयारी अवस्थामा राख्ने लगायतका प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ ।

बैठकले गरेका मुख्य ४ निर्णयहरू:

​पूर्वानुमान र चुस्त पूर्वतयारी: मनसुन सक्रिय भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण आवश्यक स्रोत-साधनलाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ । मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली (Early Warning System) सँग निरन्तर समन्वय गरी पूर्वतयारीलाई थप तीव्र बनाइनेछ ।

​तत्काल अनुगमन टोली परिचालन: महानगरका केही स्थानमा मनसुनका कारण समस्या देखिन थालिसकेकाले तत्काल अनुगमन टोली परिचालन गरिने भएको छ । उक्त टोलीले स्थलगत अवस्थाको विश्लेषण गरी तत्काल समस्या समाधान गर्नेछ भने आगामी दिनमा आउन सक्ने जोखिमको आकलन गरी राहत वितरणको समेत पूर्वतयारी गर्नेछ ।

​स्वास्थ्य सेवा र महामारी नियन्त्रणको तयारी: विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने समस्या र सम्भावित महामारीलाई मध्यनजर गर्दै आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको भरपर्दो व्यवस्थापन गर्ने निर्णय भएको छ । यसका लागि महानगर अन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन परिचालन गरिने र आवश्यक पत्राचार तत्काल अघि बढाइनेछ ।

​वडाहरूलाई पत्राचार र सतर्कता: विपद्को जोखिम सिर्जना हुन सक्ने अवस्थाको पूर्वविश्लेषण गर्दै महानगरका सबै ३२ वटै वडा कार्यालयहरूलाई पूर्ण तयारी अवस्थामा रहनका लागि तुरुन्त पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

"नगरवासीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षतिलाई कम गर्न महानगरले आफ्ना सम्पूर्ण संयन्त्र, कर्मचारी र स्रोत-साधनलाई चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ ।" इम्तियाज आलम, कार्यवाहक प्रमुख, वीरगन्ज महानगरपालिका

​कार्यवाहक प्रमुखको सचिवालयमा सम्पन्न उक्त आकस्मिक बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा, पदाधिकारीहरू अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मिया, हरि प्रसाद भुसाल तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि राजु प्रसाद साह लगायतको उपस्थिति रहेको थियो ।

​महानगरले प्राकृतिक विपद्को समयमा संयमता अपनाउन र कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल महानगरको विपद् व्यवस्थापन शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न नगरवासीलाई अनुरोध समेत गरेको छ ।