चाडपर्वको मौका छोपी सीमा क्षेत्रबाट हुनसक्ने अवैध तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि मोरङमा सुरक्षा व्यवस्थालाई निकै चुस्त र आक्रामक बनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्र बहादुरको कडा निर्देशन र विशेष सुरक्षा रणनीति अन्तर्गत मोरङका विभिन्न सीमा नाकाहरूमा अवैध कारोबार गर्नेहरूमाथि कडा निगरानी बढाउन थालिएको हो ।
एसपी गेहेन्द्र बहादुरको सोही निर्देशनलाई अक्षरसः पालना गर्दै मोरङ जिल्लाको विभिन्न स्थानबाट विभिन्न माध्यममार्फत भन्सार छली गरी लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको अवैध सामान बरामद गरिएको छ । यस विशेष अपरेसनलाई सफल बनाउन सीमा सुरक्षा गुल्म रानी र विशेष गरी बि.ओ.पी. जहदा भुटाहाको टोलीले कमाण्ड सम्हालेको थियो ।
विगत केही समयदेखि जहदा भुटाहा नाकामा तस्करी रोक्न र शान्ति सुरक्षा कायम गर्न बि.ओ.पी. जहदा भुटाहाका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेन्द्र प्रकाश मल्लले देखाउनुभएको व्यावसायिकता र कडा निगरानी प्रशंसनीय रहेको स्थानीय स्तरमा चर्चा हुन थालेको छ । इन्स्पेक्टर मल्लको कडा कमाण्ड, कार्यदक्षता र चौबीसै घण्टा फिल्डमा खटिने सक्रियताका कारण जहदा भुटाहा क्षेत्रमा अवैध गतिविधि गर्ने तस्करहरूको सञ्जाल भत्किन थालेको छ । सीमा सुरक्षामा उनको यो दृढता र कडा निगरानीले गर्दा नै आज भन्सार छलीका सामानहरू बरामद गर्न सुरक्षा टोली सफल भएको हो ।
सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार मूल्य रु. ४,२७,३९० (चार लाख सत्ताइस हजार तीन सय नब्बे) बराबरको अवैध सामग्री बरामद गरेको छ । बरामद गरिएका सामानहरूमा रजनीगन्धा, विभिन्न प्रकारका लत्ताकपडा, प्रतिबन्धित वा गैरकानुनी रूपमा भित्र्याइएका औषधि, हार्डवेयरका सामान र किराना सामग्रीहरू रहेका छन् । अवैध सामान ओसारपसार र ओसारपसारमा प्रयोग गरिएका १ थान मोटरसाइकल र २ थान रिक्सासमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामान ओसारपसारमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने २३ वर्षीय विपिन यादवलाई पनि सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका यादवसहित बरामद गरिएका सम्पूर्ण सामान, मोटरसाइकल र रिक्सालाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
गणपति एसपी गेहेन्द्र बहादुरले चाडबाडको आडमा सीमा क्षेत्रमा कुनै पनि प्रकारका अवैध गतिविधि, चोरी–पैठारी र राजस्व चुहावट गर्ने तत्वहरूलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पार्नुभएको छ । सीमा नाकामा सशस्त्र प्रहरीको कडा निगरानी र बि.ओ.पी. प्रमुखहरूको उत्कृष्ट कार्यसम्पादनले आगामी दिनमा पनि तस्करी पूर्ण रूपमा ठप्प पारिने विश्वास सुरक्षा निकायले लिएको छ ।