वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई आधुनिक, व्यवस्थित र केबलरहित बनाउने तयारी अघि बढाइएको छ । सडक विस्तारसँगै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्ने योजनालाई कार्यान्वयनमा लैजान पहल गरिएको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिँदा विद्युत्, खानेपानी, टेलिकम तथा केबल नेटवर्कलाई भूमिगत रूपमा समेटेर एकीकृत डिजाइन, इस्टिमेट र कार्यान्वयनको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसअघि तयार गरिएको डीपीआरमै खानेपानी, विद्युत् तथा केबल नेटवर्कलाई भूमिगत बनाउने व्यवस्था समेटिएको थियो । सोही व्यवस्थालाई आधार बनाएर सडक निर्माणसँगै आवश्यक पूर्वाधारलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।
मुख्य सडकमा रहेका तार तथा केबल हटाएर भूमिगत संरचना निर्माण गरिएपछि सडकको दृश्य सौन्दर्यसँगै सुरक्षा र पूर्वाधार व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ । साथै, सडक निर्माण सम्पन्न भएपछि विद्युत्, टेलिकम वा अन्य सेवा विस्तारका नाममा पटक–पटक सडक खन्नुपर्ने अवस्था समेत कम हुने अपेक्षा गरिएको छ ।
सडक विस्तारसँगै संरचना व्यवस्थापनमा जोड
बैठकले सडक विस्तारका क्रममा मुख्य सडक सीमाभित्र रहेका खानेपानी, विद्युत्, टेलिकमलगायत विभिन्न निकायका संरचना व्यवस्थित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
संरचना हटाउने तथा व्यवस्थापन गर्ने क्रममा सडक र नाला क्षेत्रमा फोहोर तथा निर्माणजन्य सामग्री थुप्रिँदा कतिपय स्थानमा नाला अवरुद्ध भएको भन्दै तत्काल सरसफाइ गर्नसमेत सम्बन्धित निकायलाई निर्देशनात्मक आग्रह गरिएको छ ।
महानगरपालिकाले सडक तथा नाला क्षेत्रमा थुप्रिएका फोहोर र निर्माण सामग्री तत्काल हटाई आवश्यक सरसफाइको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई बिहीबार नै पत्राचार गरेको जनाएको छ ।
वर्षायाम र चाडपर्वलाई ध्यानमा राख्दै सरसफाइ
वर्षायाममा सडक तथा नालामा फोहोर थुप्रिँदा पानीको निकास प्रभावित हुन सक्ने तथा लामखुट्टेको प्रकोप र संक्रमणजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले सरसफाइलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ ।
चाडपर्वसमेत नजिकिँदै गएको अवस्थामा महानगर क्षेत्रको स्वच्छता, सरसफाइ र जनस्वास्थ्यलाई ध्यानमा राख्दै सडक विस्तारसँगै फोहोर व्यवस्थापनको कामलाई अघि बढाइएको हो ।
महानगरपालिकाले सरसफाइ तथा संरचना व्यवस्थापनका क्रममा आवश्यक समन्वय र सहकार्य गर्न आफू तयार रहेको जनाएको छ ।
बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गाप्रसाद, नेपाल विद्युत् प्राधिकरण वीरगंजका निर्मल कुमार फौजदार, नेपाल टेलिकम वीरगंजका प्रमुख इन्जिनियर दिलिप कुमार बर्मा तथा खानेपानी संस्थान वीरगंजका प्रमुख मोहनदत्त भट्टलगायतको उपस्थिति थियो ।