आइतवार साँझ श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।


गत असारमा घोषणा भएको यो पार्टीले आइतवारै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।


आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाए पनि यो दलले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो दलले सहमति अनुसार मन्त्रालय नपाएका कारण सरकारबाट फिर्ता हुने निर्णय सुनाए।

यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका पार्टी सभापति रवि लामिछानेले सर्वोच्च अदालतले नागरिकताकको विषयमा प्रश्न उठाउँदै सांसद पद खारेज गरिदिएपछि पदबाट राजीनामा दिएका थिए।

यो दलले यसअघिनै सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री प्रचण्ड र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको आग्रहपछि थप दुई दिन पर्खने बताएको थियो ।

पुनः शनिवार र आइतवार पार्टी कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यसअघि गठबन्धनभित्र भागबन्डामा स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय नपाए पछि सरकार छोड्ने निष्कर्ष निकालेको थियो।

आइतवार पार्टी बैठक अघि रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका थिए। गृह मन्त्रीबाट हटेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग पटक पटक छलफलहरू गरेका विवरण आएका थिए ।