दैनिक ज्यालादारीमा कार्यरत वीरगंज महानगरपालिकाका कर्मचारीहरूलाई आज सेवाबाट हटाएको छ ।
बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको हस्ताक्षर रहेको सुचनामा उल्लेख गरिएको छ ।
४५० जनाभन्दा बढि कर्मचारीलाई दैनिक ज्यालादारीमा गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले नीयुक्त गरेको थियो ।
महानगरका प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवाहाले लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको समयावधि नथपिएको बताए ।प्रशासन महाशाखा प्रमुख कुशवाहाले महानगरलाई आवश्यकता परेको समयमा ज्यालादारीमा काम लिने र आवश्यक नपरेको समयमा हटाउनु सामान्य प्रक्रिया भएको बताए।
महानगरका मेयर राजेशमान सिंहले पनि महानगरले समय समयमा अभियान सञ्चालन गर्ने गरेको र त्यसका लागि थप जनशक्ति चाहिने हुँदा नियुक्त भएका दैनिक ज्यालादारीका कर्मचारीहरूलाई अभियान सकिएसँगै सेवाबाट हटाइएको बताए। आउने दिनमा महानगरलाई चाहिएका बखत दैनिक ज्यालादारीमा फेरि कर्मचारी राख्न सकिने पनि उनले बताए।