न्युयोर्क, जेठ ३० – अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको ऐतिहासिक प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै पहिलो ‘ट्रिलिनियर’ बनेका छन् । अमेरिकी सेयर बजार नास्डाकमा स्पेसएक्सको सेयर कारोबार सुरु भएसँगै मस्कको कुल सम्पत्ति १ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शुक्रबार नास्डाकमा स्पेसएक्सको सेयर प्रतिकित्ता १३५ अमेरिकी डलरमा सूचीकृत भएको थियो । तर बजार खुल्नेबित्तिकै लगानीकर्ताहरूको उच्च आकर्षणका कारण सेयर मूल्य १८ प्रतिशतभन्दा बढीले वृद्धि भई १६० डलरभन्दा माथि पुगेको थियो । यसले कम्पनीको कुल बजार मूल्यांकन करिब २.२ ट्रिलियन अमेरिकी डलरसम्म पुर्याएको बताइएको छ ।
स्पेसएक्सले आईपीओमार्फत करिब ७५ अर्ब अमेरिकी डलर पूँजी संकलन गर्दै विश्वकै सबैभन्दा ठूलो आईपीओको नयाँ कीर्तिमान समेत कायम गरेको छ । यसअघि सन् २०१९ मा साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले २५.६ अर्ब अमेरिकी डलर बराबरको आईपीओ जारी गरी विश्व रेकर्ड बनाएको थियो। स्पेसएक्सले उक्त रेकर्डलाई निकै ठूलो अन्तरले उछिनेको छ ।
ब्लुमबर्ग तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूका अनुसार स्पेसएक्समा मस्कको ठूलो हिस्सेदारी रहेका कारण कम्पनीको बजार मूल्यमा भएको वृद्धिले उनको व्यक्तिगत सम्पत्ति १ ट्रिलियन डलरभन्दा माथि पुगेको हो। यससँगै मस्क विश्व इतिहासमै ट्रिलियन डलर सम्पत्ति हुने पहिलो व्यक्ति बनेका छन् ।
यद्यपि, विज्ञहरूले मस्कको सम्पत्ति अधिकांश रूपमा स्पेसएक्स र टेस्लामा रहेको सेयर स्वामित्वको मूल्यांकनमा आधारित रहेको स्पष्ट पारेका छन् । यो रकम नगद सम्पत्ति नभई बजार मूल्यमा आधारित अनुमानित सम्पत्ति हो। अमेरिकी प्रतिभूति कानुनअनुसार उनले निश्चित अवधिसम्म आफ्नो ठूलो हिस्सा बिक्री गर्न नपाउने व्यवस्था रहेको जनाइएको छ ।
एलन मस्कले विगत दुई दशकमा विद्युतीय सवारीसाधन, अन्तरिक्ष प्रविधि, कृत्रिम बुद्धिमत्ता, न्यूरोटेक्नोलोजी तथा सामाजिक सञ्जालजस्ता क्षेत्रमा लगानी र नेतृत्व गर्दै आएका छन् । टेस्ला, स्पेसएक्स, एक्स (पूर्व ट्विटर), न्युरालिङ्क तथा एक्सएआई जस्ता कम्पनीहरूले उनलाई विश्वकै प्रभावशाली उद्यमीमध्ये एक बनाएका छन् ।
विश्लेषकहरूका अनुसार स्पेसएक्सको सफल आईपीओले निजी अन्तरिक्ष उद्योगको व्यावसायिक सम्भावनालाई थप बलियो बनाएको छ । आगामी वर्षहरूमा उपग्रह इन्टरनेट सेवा स्टारलिङ्क, चन्द्रमा तथा मंगल ग्रहसम्बन्धी परियोजनाहरू र व्यावसायिक अन्तरिक्ष यात्राले कम्पनीको मूल्य अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
विश्व अर्थतन्त्रमा प्रविधि कम्पनीहरूको प्रभाव बढिरहेका बेला मस्कको यो उपलब्धिलाई आधुनिक उद्यमशीलता, नवप्रवर्तन र निजी अन्तरिक्ष उद्योगको नयाँ युगको प्रतीकका रूपमा हेरिएको छ ।