३० जेठ बीरगंज – नेपाल प्र.सी.सु.गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खाटिएको टोलीले विशेष सूचनाको आधारमा नेपाल-भारत सीमाबाट अवैध रुपमा लुकाई छिपाई ल्याइएको ठूलो मात्रामा नेपाली रुपैयाँसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
बीरगंज महानगरपालिका–१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AT0475 नम्बरको मोटरसाइकलमा सवार पर्सा, बीरगंज म.न.पा.–२, छप्कैया निवासी अन्दाजी १९ वर्षीय राहुल कुमार तिवारीले मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाई छिपाई अवैध रूपमा चोरी पैठारी गरि ल्याएको नेपाली रुपैयाँ १३ लाखसहित पक्राउ परेका हुन्। उनले प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यस्तै, सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगञ्ज म.न.पा.–१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४७ प ९७१० नम्बरको HERO GLAMOUR मोटरसाइकलमा सवार बारा जिल्ला, प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्तालाई नियन्त्रणमा लिएको छ। गुप्ताले शरीरको विभिन्न भागहरूमा लुकाई छिपाई ल्याएको नेपाली रुपैयाँ ५ लाखसहित उनको मोटरसाइकलसमेत बरामद गरिएको छ।
दुबै घटनामा संलग्न व्यक्तिहरू, बरामद रकम तथा सवारीसाधनहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका हुन् ।
डीएसपी लोकेन्द्र सुस्वाले सीमा क्षेत्रमा हुने सबैखाले अवैध गतिविधि, विशेष गरी हुन्डि, सुन, लागूपदार्थ तथा अन्य तस्करी नियन्त्रणका लागि निगरानी अझ कडा बनाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सीमामा नियमित गस्ती, सूचना संकलन र विशेष अपरेशनमार्फत अवैध कारोबारमा संलग्नलाई कारबाही गरिनेछ।