३० जेठ बीरगंज — पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा आज बिहान करिब ५:०० बजे सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
घटनास्थलमा प्रहरी टोली पुगेर दिएको जानकारीअनुसार, HR 55 K 3971 नम्बरको एक भारतीय ट्रक भुसा लोड गरेर बिग्रिएर सडकमा रोकी राखिएको अवस्थामा थियो। त्यही समयमा सिरसिया तर्फबाट ड्राइपोर्ट गइरहेको बागमती प्रदेश-०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल सो ट्रकको पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
मोटरसाइकलमा सवार तीन जना पुरुषमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जना पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–०३ झलमैया टोल निवासी रामसरन यादवका २३ वर्षीय छोरा रामाकान्त यादव र अर्का मृतक सुसराम यादवका २३ वर्षीय छोरा विजय यादव रहेको पहिचान खुलेको छ।
तेस्रो सवारी, २२ वर्षीय विजय कुमार यादव, मनिका राउत अहिरका छोरा रहेका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने ट्रक चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।