वीरगंज महानगरपालिका वडा नं. ८ मा सञ्चालन प्रस्ताव गरिएको ५० शैयाको आशाराम हस्पिटलका लागि वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीका लागि स्थानीय सरोकारवाला जनप्रतिनिधि तथा बासिन्दाहरूको सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा आशाराम हस्पिटलका सञ्चालक डा. अशोक दासले अस्पतालको स्थापना कालदेखि हालसम्मको यात्रा र सेवाप्रति प्रतिवद्धता प्रस्तुत गर्दै अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखिएको बताए । उनले अस्पताललाई स्थानीयस्तरमै आधुनिक स्वास्थ्य सुविधा पुऱ्याउने केन्द्रका रुपमा विकास गर्ने योजना रहेको स्पष्ट पारे ।
त्यसैगरी, वीरगंज पब्लिक कलेजका निर्देशक डा. दीपक शाक्यले पनि आफ्नो धारणा राख्दै वीरगंज महानगरका प्रत्येक वडामा कम्तिमा एउटा सरकारी वा निजी अस्पताल अनिवार्य रुपमा स्थापना गरिनुपर्ने आवश्यकता औंल्याए । उनले स्वस्थ्य सेवा पहुँचलाई सहज र सर्वसुलभ बनाउन सामूहिक प्रयासको आवश्यकता रहेको बताएका थिए।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासी र सरोकारवालाहरूले अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने, गरिब तथा असहाय व्यक्तिहरूका लागि विशेष छुटको व्यवस्था गर्नुपर्ने, सेवा सहज बनाउन "हेल्प डेस्क" स्थापना गर्नुपर्ने, आकस्मिक (Emergency) सेवा चुस्त तथा प्रभावकारी बनाउनुपर्ने सुझावहरू दिएका थिए ।
त्यस्तै, अस्पताल परिसर र भित्रको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, हरियाली व्यवस्थापन गर्नुपर्ने, अपाङ्गमैत्री संरचना तथा उपकरणहरूको व्यवस्था मिलाउनुपर्ने, अस्पतालले आफ्ना सेवा सुविधाहरूको नियमित स्व–मूल्यांकन (Self Audit) गर्नुपर्ने तथा अस्पतालबाट निस्कने तरल फोहर (Liquid Waste) को उचित व्यवस्थापन गर्नुपर्ने सुझावसमेत राखिएको थियो ।
कार्यक्रममा प्राप्त राय, सुझाव तथा सल्लाहहरूलाई समेटी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अन्तिम बनाई आवश्यक प्रक्रिया अघि बढाइने आयोजकले जानकारी गराएका छन् ।