२७ जेठ बीरगंज — जिल्ला विपद् व्यवस्थापन समिति पर्साको आयोजनामा तथा सुरक्षा निकाय र सरोकारवाला निकायहरूको सहकार्यमा “अभ्यास मनसुन–५” नामक जलजन्य विपद् उद्धार संयुक्त अभ्यास कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
२०८१ सालको मनसुनलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन क्षमताको मूल्यांकन र सुधारको उद्देश्यसहित मिति २०८२ जेठ २४ गतेदेखि सुरु भएको चार दिने कार्यक्रम आज मिति २०८२ जेठ २७ गते वीरगंज महानगरपालिका वडा नं. १० स्थित घडिअर्वा पोखरीमा सम्पन्न भयो।
कार्यक्रमको प्रमुख आतिथ्यता पर्साका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालले गर्नु भएको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, रेडक्रस, स्काउट तथा अन्य सरोकारवाला निकायहरूले जल उद्धार अभ्यासमा सक्रिय सहभागिता जनाए।
संयुक्त अभ्यास प्रदर्शनमा विपद् व्यवस्थापनको तयारी, समन्वय र उद्धार कार्यसम्बन्धी विभिन्न कार्यहरू अभ्यास गरिएका थिए। विपद् पूर्व तयारी र तत्कालिन प्रतिक्रिया क्षमताको परीक्षण गर्दै उपस्थित निकायहरू बीचको सहकार्य अझ सशक्त बनाउने उद्देश्य राखिएको कार्यक्रमले स्थानीय स्तरमा समेत चेतना फैलाएको छ।
उक्त प्रदर्शनी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, संघसंस्थाका सदस्य, समाजसेवी, सञ्चारकर्मी, विभिन्न विद्यालयका शिक्षक-विद्यार्थी लगायत करिब ६०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमले पर्सा जिल्लामा विपद् व्यवस्थापन र उद्धार क्षमताको बृहत अभ्यासमार्फत सशक्त सन्देश दिए सँगै कार्यक्रमको सफलताले आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र तत्कालीन प्रतिकार्य क्षमतालाई अझ मजबुत बनाउने सहभागीहरूले बताएका छन्।
कार्यक्रमबाट प्राप्त प्रमुख लाभहरूः
🔹 उद्धार क्षमताको विकास — नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस, स्काउट लगायत संस्थाहरूले व्यवहारिक तालिम मार्फत उद्धार प्रक्रियामा दक्षता हासिल गरे।
🔹 संस्थागत समन्वय बलियो — विभिन्न निकायबीच तालमेल र सहकार्य कसरी गर्न सकिन्छ भन्ने अभ्यासले आपसी बुझाइमा स्पष्टता ल्याएको छ।
🔹 सर्वसाधारणमा चेतना वृद्धि — करिब ६०० जना सहभागी भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणले प्रत्यक्ष रूपमा विपद् उद्धार कार्य हेरेर ज्ञान प्राप्त गरे।
🔹 स्रोतसाधनको परीक्षण — प्रयोग भएका उपकरण, उद्धार सामग्री तथा सञ्चार प्रणालीको वास्तविक परीक्षणले आगामी तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।