न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान १३ वर्षपछि आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । 

न्युजिल्याण्डलाई पराजित गरेसँगै पाकिस्तान तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । सन् २००९ पछि पहिलो पटक फाइनल पुगेको पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्याण्डको विजेतासँग खेल्नेछ ।  

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो। त्यसयता पाकिस्तान फाइनल पुग्नसकेको थिएन । सन् २००७ को पहिलो संस्करणमा पाकिस्तान भारतसँग ५ रनले पराजित भएको थियो। सन् २०१० मा पाकिस्तान अष्ट्रेलियासँग ३ विकेटले पराजित हुँदै उपाधिको नजिक पुगेर पनि टाढिएको थियो । 

गत वर्षको विश्वकपमा पनि पाकिस्तान अष्ट्रेलियासँग नै ५ विकेटले पराजित हुँदै अन्तिम ४ बाटै बाहिरिएको थियो। समूह चरणमा उत्कृष्ट प्रर्दशन गर्न नसकेको पाकिस्तान भाग्यमानी टोली बन्दै विश्वकपको उपाधि यात्रा तय गर्न सफल भएको थियो । 

पाकिस्तानसँग पराजित भएसँगै लगातार दोस्रो पटक विश्वकप फाइनल खेल्ने योजनामा रहेको न्युजिल्याण्डको सपना भने अधूरै रहेको छ । न्युजिल्याण्ड गत वर्ष अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । 

न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९‍‍‍.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । 

पाकिस्तानका लागि दुवै ओपनरले अर्धशतक पूरा गरे । 

पहिलो विकेटका लागि ओपनर रिजवान र कप्तान बाबर अजामले १०५ रनको साझेदारी गरे । कप्तान बाबर ५३ रनमा पवेलियन फर्के । ४२ बलमा ७ चौका हानेका बाबर लामो सट खेल्ने धुनमा ट्रेण्ड वोलको बलमा डेर्ली मिचेलबाट क्याच आउट हुन पुगे । 

रिजवान ५७ र मोहम्मद हरिस ३० रनमा आउट भए । मसुद ‍‍३ र इफ्तिखार अहमद शून्य रनमा नटआउट रहे । 

त्यसअघि अष्ट्रेलियाको सिड्नीमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको थियो ।  

चौथो विकेटका लागि कप्तान केन विलियम्स र डार्ली मिचेलले ६८ रनको साझेदारी गर्दै इनिङ्स उकालेका थिए । 

डेली मिचेल ५३ र जेम्स निसाम १६ रनमा नटआउट रहे । 

कप्तान केन ४६ रन बनाउँदा शहिन शा अफ्रिदीको बलमा बोल्ड आउट भए। ४२ बलको सामना गरेका केनले १ चौका र १ छक्का हान्दै ४६ रन हाने । 

ओपनर फिन एलिन ४ रनमा सहिन शाह अफ्रिदीको बलमा एलबीडब्लु धरापमा परे । डिभोन कोनवे २१ रन बनाउँदा रनआउट भए । ग्लेन फिलीप ६ रनमा क्याच आउट भए । पाकिस्तानका सहिन शा अफ्रिदीले २ विकेट झारे । मोहम्ममद नवाजले १ विकेट आफ्नो नाममा गरे । 

न्युजिल्याण्ड समूह एुको विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान भने समूह बी को उपविजेताको हैसियतमा अन्तिम ४ को यात्रा तय गरेको थियो । 

दोस्रो सेमिफाइनलमा बिहिबार भारत र इङल्याण्ड खेल्नेछन् ।