नेपाल प्रहरीको पोलिग्राफ शाखामा हालसम्म दुई हजार सात सय ७८ मुद्दाका पाँच हजार चार सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । स्थापना भएयता १० वर्षमा सो बराबर परीक्षण गरिएको हो । 

आर्थिक वर्ष २०७०/७१ मा दुई सय २५, आव २०७१/७२ मा चार सय ६८, आव २०७२/७३ मा तीन सय ९१, आव २०७३/७४ मा पाँच सय ४३, आव २०७४/७५ मा पाँच सय ८५, आव २०७५/७६ मा पाँच सय ८८, आव २०७६/७७ मा सात सय ५९, आव २०७७/७८ मा छ सय पाँच, आव २०७८/७९ मा तीन सय ८१, आव २०७९/८० मा चार सय ८२ र चालु आवमा दुई सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको जनाइएको छ ।

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका दुई सय ४१, पूर्वप्रहरी कर्मचारी छजना, नेपाली सेनाका ४०, राष्ट्रिय अनुसन्धान विभागका पाँच र सशस्त्र प्रहरी बलका २९ गरी जम्मा तीन सय २१ जना रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार व्यक्तिले बोलेका कुराको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ भएको र यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबभन्दा पुरानो प्रविधि हो । 



साभार : लोकान्तर