बीरगञ्ज (पर्सा) - १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि बुधबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी अहिले प्रहरी वृत्त स्वयम्भुको हिरासतमा छन् ।

नागरिकको सेवा र सुरक्षा गर्ने भनेर राज्यले लगानी गरेको व्यक्तिबाटै अपराध हुनु नागरिकको सुरक्षा र नेपाल प्रहरी प्रशासन माथि ठूलो प्रश्न उठाइरहेको छ ।

काठमाडौं उपत्यकाका ३ जिल्लाभित्रका जघन्य प्रकृतिका अपराधको अनुसन्धान गर्ने युनिटका इन्स्पेक्टर शिवाकोटीमाथि नै अहिले जघन्य अपराधको आरोप लागेको छ ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामूलक अभियान चलाइरहेका बेला इन्स्पेक्टर शिवाकोटीले आफूमाथि यौन दुव्र्यवहार र कुटपिट हुने गरेको बालिकाले बताएकी थिइन् ।यौन दुव्र्यवहार गरेको आरोप लागेपछि बुधबार साँझ नियन्त्रणमा लिएर शिवाकोटीमाथि अनुसन्धान अघि बढाइएको छ । 

काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली शिवाकोटी बसेको घरमा पुगेको थियो । पीडित किशोरीलई उद्धार गरेर बाल सुरक्षा गृहमा पठाइयो भने इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । शिवाकोटीविरुद्ध कानुन बमोजिम फौजदारी कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँछन् ।

नेपाल प्रहरी संगठनभित्रै नैतिक शिक्षाको खाँचो रहेको हामीले प्रष्ट देख्न पाइरहेका छौं ।कानुन हुँदा पनि अपराध भइरहेको छ भनेपछि त्यो पर्याप्त छैन भन्ने बुझिन्छ । त्यसैले नैतिक शिक्षामा जोड दिनुको विकल्प छैन । एउटा बच्चा हुर्किँदै उसले घर, समाजबाट कस्तो नैतिक शिक्षा पायो, स्कुलबाट कस्तो शिक्षा पायो र प्रहरी संगठनमा आएपछि उसको स्कुलिङ कस्तो छ भन्ने कुराले अपराधमा ठूलो अर्थ राख्छ ।

पछिल्लो ५ वर्षको नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने बाल यौन दुरुपयोग र बलात्कारसम्बन्धी कसुरमा १० जना प्रहरी अधिकारीहरुविरुद्ध कारबाही भएको छ । त्यसमध्ये बाल यौन दुराचारमा ५ र बलात्कारसम्बन्धी कसुरमा ५ जना छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको अवधिमा ३८६ प्रहरी फौजदारी कसुरको आरोपमा करबाहीमा परेका छन् । 

प्रहरीले कुनै फौजदारी अपराधको कसुर गरेमा अन्य सर्वसाधारणलाई हुने कारबाहीको १० प्रतिशत बढी सजाय हुने व्यवस्था छ । ‘यो व्यवस्था राख्नु भनेकै तिमीलाई चाहिँ अपराध गर्ने छुट छैन है भन्ने सन्देश हो तर पनि दिनदिनै लामो समयदेखि कानुनमा बस्नेले नै कानुन मिचि कानुन विपरीत अनैतिक क्रियाकलाप गरिरहेको पाइरहेको छ ।