वीरगञ्ज, वैशाख २४ – पर्सा जिल्लाको पोखरीया नगरपालिका–२, लमरियामा आज एक महत्वपूर्ण पूर्वाधार विकासको थालनी गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र प्रतिनिधिसभा सदस्य प्रमोद जयसवालले संयुक्त रूपमा सडक तथा नाला निर्माणको शिलान्यास गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट लागत अनुमान गरिएको यो योजनाअन्तर्गत १३२ मिटर सडक र १०७ मिटर नाला निर्माण हुनेछ, जसमा कुल २५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
शिलान्यास समारोहमा बोल्दै सांसद प्रमोद जयसवालले सरकारद्वारा तराई–मधेसका आदिवासी, जनजाति, मधेसी तथा सीमान्तकृत समुदायको समुन्नतिको लागि विभिन्न विकास कार्यक्रमहरू अघि सारिएको जानकारी दिए। उनले यस क्षेत्रमा आफ्नै पहलमा बजेट विनियोजन गरिएको जनाउँदै निर्माण कार्य गुणस्तरीय र समयमा सम्पन्न गर्न निर्माण समितिलाई निर्देशन दिए ।
"यदि इमान्दारीपूर्वक काम गरियो भने आगामी वर्ष थप बजेट ल्याएर यहाँका अन्य आवश्यक पूर्वाधार विकासमा योगदान दिनेछु," सांसद जयसवालले प्रतिबद्धता जनाए। साथै, उनले तराई–मधेस क्षेत्रलाई औद्योगिक हबको रूपमा विकास गर्नु सरकारको प्राथमिकतामा रहेको समेत बताए ।
शिलान्यास कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रधुम्न चौहानले नगरको समग्र विकासका लागि विभिन्न मन्त्रालयहरूसँग सहकार्य भइरहेको जानकारी दिँदै सांसद जयसवालसँग थप बजेटको आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख रुबी ठाकुर, पूर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी, वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।
यस योजनाले स्थानीय पूर्वाधार सुदृढीकरण गर्दै नगरवासीको जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।