२१ साउन,बीरगंज -सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतत्त्व एवं बीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भन्सार छली गरी ल्याइएका रु. ३,६२,०५० बराबरका विभिन्न सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगर स्थित भैरव क्यारीयर्स प्रा.लि.को गोदाममा भारतबाट चोरीपैठारी गरी ल्याइ भण्डारण गरिएको रु. २,८८,००० बराबरको जुत्ताहरू बरामद गरी आवश्यक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
त्यसैगरी, सोही मितिमा सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित विभिन्न नाकाहरूबाट अबैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका रु. ७४,०५० बराबरका किराना तथा अन्य सामग्रीहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति डिएसपी पुरुषोत्तम भण्डारीको कुशल कमान्डमा तस्करी नियन्त्रण अभियान तीव्र गतिमा अघि बढिरहेको छ।