काठमाडौं, ५ असोज — लगातारको झरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा अवतरण गर्न नसकेका केही अन्तर्राष्ट्रिय उडानहरू भारततर्फ मोडिएका छन् ।

बिहीबार दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेजको एयरबस A330-302 विमान काठमाडौंको मौसम खराबीका कारण निर्धारित समयमै अवतरण गर्न सकेन । खराब दृश्यता र भीषण वर्षाका कारण त्रिभुवन विमानस्थलमा अवतरण सम्भव नभएपछि उक्त विमान भारतको कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

त्यस्तै, दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाको एयरबस AI2219 पनि अत्यधिक वर्षा र खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि पुनः दिल्ली नै फिर्ता गरिएको थियो । दिल्लीमै  एयर इन्डिया कम्पनीले सम्पूर्ण यात्रीहरूलाई होटेलमा व्यवस्थापन गरेको एक यात्री हरिकिशोर पंडितले जानकारी गराएका छन् I

विमानस्थल स्रोतका अनुसार बिहीबार साँझदेखि नै काठमाडौंमा अविरल वर्षा भइरहेको र दृश्यता निकै कम हुँदा अन्य केही अन्तर्राष्ट्रिय उडानहरू समेत डाइभर्ट गरिएको तथा ढिला गराइएको थियो I

यात्रीहरूको सुरक्षालाई प्राथमिकता दिँदै विमानहरूलाई वैकल्पिक विमानस्थलतर्फ मोडिनु परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।