वीरगञ्ज, पर्सा । इस्लामी हिजरी पात्रोको तेस्रो महिना रब्बि उल अव्वलको १२ औँ दिन (मिलाद–उन–नबी) को अवसरमा शुक्रबार वीरगञ्जमा शान्तिपूर्ण तथा भव्य तरिकाले मोहम्मद डे मनाइएको छ ।
यस दिनलाई इस्लाम धर्मावलम्बीहरूले पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मदिनका रूपमा श्रद्धा र आस्थाका साथ मनाउने गरेका छन् । इस्लामी इतिहासअनुसार, हजरत मोहम्मद (स.अ.व.) सन् 570 ईस्वीमा मक्का शहरमा आमिना बिबीको कोखबाट जन्म लिनुभएको थियो । उहाँको जीवन, कुरआनमा दिइएका शिक्षाहरू तथा मानवता, शान्ति र भाईचारा प्रवर्द्धनमा दिनुभएको योगदान स्मरण गर्दै यो दिन विशेष रुपमा मनाउने प्रचलन रहेको छ ।
यसै अवसरमा नेपाल मुस्लिम समाज संघ, पर्साले विपन्न तथा जरुरतमन्द वर्गका लागि खाना वितरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा समाजसेवी अनवर आलम, आलिअस्गर अन्सारी, मन्सुर मिया, अब्दुल कैश, सकिल अख्तर, अली अक्बर हवारी, नैस अनसारी, परवेज मन्सुरी, जौवाद हवारी, शोहैल अन्सारीलगायत सक्रिय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
मुस्लिम समुदायले यस दिनलाई धार्मिक सदाचार, आपसी भाईचारा र सहयोगभावना फैलाउने अवसरका रूपमा लिने परम्परा रहेको छ । वीरगञ्जमा सम्पन्न कार्यक्रम शान्तिपूर्ण, अनुशासित र सामाजिक उत्तरदायित्वमूलक कार्यद्वारा सम्पन्न भएको आयोजकहरूले जनाएका छन् ।