वीरगन्ज, चैत्र २३ – वीरगन्जमा ‘सोसियल युथ युनिटी क्लब’को आयोजनामा सुरु भएको ‘टु द भीआर’ क्रिकेट प्रतियोगिता आजदेखि धमाकेदार रूपमा प्रारम्भ भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित खेलमैदानमा आयोजित उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो ।

प्रतियोगिताको उद्घाटन पर्सा क्रिकेट संघ (क्यान)का अध्यक्ष मनिष सिंह र प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगरले संयुक्त रूपमा गरे । कार्यक्रम क्लबका अध्यक्ष विक्की मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल पत्रकार महासंघ पर्साका सदस्य रितेश झा, प्रेस सेन्टर नेपाल पर्साका सदस्य अनिल ओझालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा महानगरका विभिन्न वडाबाट छ वटा टोली – मुरली स्ट्राइकर्स, मुरली इलेभेन स्टार्स, मुरली नाइट राइडर्स, आरआर हार्डवेयर, ब्रेभ रिबेल्स र एमएसीएस बीआरजे – ले सहभागिता जनाएका छन् ।

उद्घाटन खेलको रोमाञ्चक परिणाम

पहिलो दिनको उद्घाटन खेलमा मुरली नाइट राइडर्सले ब्रेभ रिबेल्सलाई ४० रनले पराजित गर्दै प्रतियोगितामा सशक्त सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको मुरली नाइट राइडर्सले १४.३ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । जवाफी पालीमा उत्रिएको ब्रेभ रिबेल्स १०.५ ओभरमै ६७ रनमा समेटिएको थियो ।

क्रिकेट महोत्सव १५ अप्रिलसम्म

प्रतियोगितामा १६ वटा लिग चरणका खेलहरू खेलिने छन्, जसपश्चात प्लेअफ चरण सुरु हुनेछ । क्लबका अध्यक्ष विक्की महतोका अनुसार यो क्रिकेट महोत्सव आगामी अप्रिल १५ सम्म जारी रहनेछ ।

‘टु द भीआर’ क्रिकेट प्रतियोगिता वीरगन्जको युवा खेल प्रतिभालाई उजागर गर्न तथा स्थानीय स्तरमा खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो ।