सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा द्वारा “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सात कार्यदिने केश कर्तक (हेयर कटिङ) तालिम आज मिति २०८२।०९।२७ गते सफलतापूर्वक समापन भएको छ ।
मिति २०८२।०९।२० गतेदेखि जिल्ला पर्सा, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ०४, लहावरथकरीस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरीमा सञ्चालन भएको उक्त तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको थियो ।
तालिम समापन कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ०४ र ०५ का वडाअध्यक्ष तथा वडा सदस्यहरू, सीमा सहजिकरण समिति लहावरथकरी–४ का सदस्यहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तालिममा पकाहाँमैनपुर गाउँपालिका वडा नं. ०४ का १५ जना प्रशिक्षार्थीहरू सहभागी रहेका थिए। तालिम समापन पश्चात पकाहाँमैनपुर गाउँपालिकासँगको सहकार्यमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै १/१ सेट कपाल काट्ने सामग्री समेत हस्तान्तरण गरिएको सूचना अधिकारी स.प्र.ना.उ. मोहनराज निरौलाले जानकारी दिनुभयो ।
यस किसिमका सीपमूलक तालिमहरूले सीमावर्ती क्षेत्रका युवाहरूलाई रोजगारीतर्फ आकर्षित गर्दै सुरक्षा निकाय र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास गरिएको छ ।