काठमाडौँ । वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तार मुद्दाको कारण केही वर्षदेखि ओझेलमा परेको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले ।
सांसद यादवले मुद्दा फैसलामा गरेको ढिलाइका कारण मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै भने–‘त्रिभुवन राजपथ समेत पर्ने मुख्य सडक अन्तर्गत पर्ने सडक ऐन २०३१ अन्तर्गत मुख्य राजमार्गको मापदण्ड अन्तर्गत पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकी ऐनको क्षेत्राधिकार अन्तर्गत वीरगञ्जको मुख्य सडक २५–२५ मिटर फराकिलो पार्नका लागि सडक विभागले वीरगञ्जको गण्डक चोकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मको आधा किलोमिटर दुरीको सडक विस्तारको कार्य २०७६ साल कार्तिक १७ गतेदेखि गर्ने गरी सडक विभागले प्रक्रिया अगाडि बढायो ।’
‘तर त्यही बेला केही स्थानीयले सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो । मुद्दाको छिनोफानो नहुँदा वीरगञ्जको विकास नै ओझेलमा परेको बताए। त्यसकारण सभामुखमार्फत सर्वोच्च अदालतलाई ध्यानाकर्षण गराउन चाहन्छु, मुद्दाको छिटो छिनोफानो गरेर वीरगञ्जको विकासको बाधा छिटो हटाइदिन आग्रह गर्न चाहन्छु ’ सांसद यादवले भने ।