महोत्तरी, कार्तिक १३ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा सञ्चालन भएको विपद् व्यवस्थापन तालिम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै बाहिनीपति ढकालले तालिमले सहभागीहरूमा विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप र मनोबल बढाएको बताउँदै सशस्त्र प्रहरी बल देशभर विपद् जोखिम न्यूनीकरणमा अग्रसर रहेको उल्लेख गरे। उनले भने, “विपद् आइपर्ने कुरा रोक्न सकिँदैन, तर तयारी र सीपले त्यसको क्षति कम गर्न सकिन्छ। दन्तकाली तालिमले प्रहरी बललाई अझ सक्षम बनाएको छ ।”

कार्यक्रममा प्रशिक्षकहरूलाई सम्मानपत्र प्रदान गर्दै तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।


सशस्त्र प्रहरी बलको दन्तकाली विशेष कार्य तालिम शिक्षालयले देशभरका सुरक्षा बलका सदस्यहरूलाई उद्धार, राहत, र विपद् व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ नियमित तालिम सञ्चालन गर्दै आएको छ ।

स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरीको अनुशासन, प्रतिबद्धता र जनसेवाको भावना प्रसंसा गरिएको थियो ।