१४ साउन बीरगंज -सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर, पर्साको गणपति पदभार सम्हाल्नु भएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको आगमनसँगै सीमाक्षेत्रमा तस्करी नियन्त्रण, सुरक्षा निगरानी र रणनीतिक पहलहरू प्रभावकारी रूपमा अघि बढेका छन्।

एसपी भट्टको नेतृत्वमा मिति २०८२ साउन १४ गते खटिएको टोलीले भारतबाट भन्सार छली ल्याइँदै गरेको रु. ६,७७,६३६ बराबरको मोबाइल पार्ट्स र उक्त कार्यमा प्रयोग गरिएको भारतीय नं. प्लेटको मोटरसाइकल सहित सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

उक्त कारबाही वीरगञ्ज महानगरपालिका वडा नं.–१७, ( आई. सि. पी ) चोक क्षेत्रमा गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी कृष्ण सिंह पुजारा ले जानकारी दिएका छन् । यस अभियानले सशस्त्र प्रहरीको सतर्कता र सशक्त उपस्थिति पुष्टि गरेको छ।

एसपी पुरन चन्द्र भट्ट एक कुशल रणनीतिकार तथा अपराधिक गतिविधिमा कठोर हस्तक्षेप गर्ने दृढ अधिकारीको रूपमा पहिचान बनाउँदै आएका छन्। वीरगञ्जजस्तो संवेदनशील सीमाक्षेत्रमा आएको उनको सरुवा सशस्त्र प्रहरी बलको तर्फबाट समयानुकूल निर्णय सावित हुँदैछ।

एसपी भट्टले पदभार ग्रहण गरेसँगै सीमाक्षेत्रमा भइरहेको साना–ठूला अवैध कारोबार, तस्करी र भन्सार छल्ने गतिविधिहरूमा तुरुन्त प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्न निर्देशन दिएका छन्। उनको पहलमा तस्करी नियन्त्रण मात्र नभई जनताको सुरक्षाको प्रत्याभूति दिलाउने आधार निर्माण भएको देखिन्छ।

"एसपी भट्टको आगमनसँगै सीमाक्षेत्रको सुरक्षा संयन्त्र थप मजबुत र परिणाममुखी हुने विश्वास छ।"

सशस्त्र प्रहरी बल, पर्साले भविष्यमा पनि यस्ता सूचना–आधारित, समन्वयपूर्ण र परिणाममुखी अपरेसनहरूलाई निरन्तरता दिने जनाएको छ। एसपी भट्टले स्वयं “निष्पक्षता, समर्पण र सशक्त कारबाही” लाई आफ्नो प्राथमिकतामा राख्दै सुरक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।