वीरगन्ज, १३ साउन
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका सबै ३२ वटै वडा कार्यालयका कामकारबाही अनिश्चितकालका लागि ठप्प पारिएको छ । वडाध्यक्षहरूले सामूहिक रूपमा विरोध जनाउँदै साउन १३ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण प्रशासनिक सेवाहरू बन्द गर्ने निर्णय गरेका हुन् ।
गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वडा नं. २५ निवासी राजकुमार कुर्मीको निधन भएको थियो। चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए ।
उक्त घटनाको न्यायसम्मत समाधानका लागि पीडित परिवार र प्रशासनबीच मध्यस्थता गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले व्यक्त गरेको विचारलाई आधार बनाएर स्थानीय प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै धरपकड गरेको जनप्रतिनिधिहरूको भनाइ छ ।
जनप्रतिनिधिहरूको कडा आपत्ति र चेतावनी
नगरवासीको हकहितका लागि आवाज उठाउने जनप्रतिनिधिमाथि नै प्रहरी प्रशासनले धरपकड गरेको भन्दै वीरगन्ज महानगरका सम्पूर्ण वडाध्यक्षहरूले तीव्र रोष प्रकट गरेका छन् । यसअघि साउन १२ गते पनि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले वडाध्यक्ष चतुर्वेदीलाई तत्काल थुनामुक्त गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए ।
"जनप्रतिनिधि स्तरबाट सामूहिक रूपमा ध्यानाकर्षण गराउँदा पनि प्रशासनले वडाध्यक्ष जस्तो संवेदनशील पदमा रहेका व्यक्तिलाई रिहा नगरेकाले बाध्य भएर वडाका सेवा ठप्प पार्ने कठोर कदम चाल्नुपरेको हो । यदि उहाँलाई तत्काल स-सम्मान रिहा नगरिए आगामी दिनमा अझ कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौँ ।"
आन्दोलनका कारण सिर्जना हुने जुनसुकै असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनुपर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।
अकस्मात् वडा कार्यालयहरू बन्द भएपछि वीरगन्ज महानगरका ३२ वटै वडाबाट प्रवाह हुने सिफारिस, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित लगायतका दैनिक कामकाज पूर्ण रूपमा प्रभावित भएका छन् । जसका कारण टाढा-टाढाबाट सेवा लिन आएका सर्वसाधारण सेवाग्राही ठूलो मर्कामा परेका छन् ।
यद्यपि, सर्वसाधारणको अति संवेदनशील विषयलाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू भने सुचारु नै रहने जनाइएको छ ।