१५ असार बीरगंज – सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म का गुल्मपति डिएसपी लोकेन्द्र सुबाको नेतृत्वमा निरन्तर निगरानी तथा गस्तीको प्रभावशाली कार्यदक्षताका कारण पछिल्लो २४ घण्टाभित्र विभिन्न स्थानबाट रु. ११,६६,६९० बराबरका अवैध सामानहरु नियन्त्रणमा लिइ भन्सार दाखिला गरिएको छ। तस्करी नियन्त्रणमा डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा गरिएको सक्रिय र प्रभावकारी अभियान उल्लेखनीय बनेको छ ।

तीन फरक कारबाहीमा तस्करी प्रयास विफल

मिति २०८२।०३।१४ गते, सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१६, ईनर्वा नाका क्षेत्रबाट बोरामा प्याक गरी भारततर्फ निकासी गर्न लागिएको तामाको माने (Copper Item) तथा प्रयोगमा ल्याइएको E-Loader सहित कुल रु. ५,०८,००० बराबरको समान नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको वस्तुहरू मिति २०८२।०३।१५ गते आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो ।

त्यसैगरी, सोही मितिमा अर्को टोलीले बि.म.न.पा.–१६ स्थित भन्सार क्षेत्रबाट रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको मोटरसाइकलमा लुकाइ–छिपाइ ल्याइएको मोबाइल पार्ट्स समेत रु. ४,६७,००० बराबरको समान र तस्करीमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ ।

तेस्रो कारबाही मिति २०८२।०३।१५ गते सशस्त्र प्रहरी बल, प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–४, झौवा चोकबाट भारतबाट भन्सार छली ल्याइएको किराना सामानसहितको मोटरसाइकल, रु. १,९१,६९० बराबरको समानसहित नियन्त्रणमा लिई सोही दिन भन्सार कार्यालयमा बुझाइएको छ ।

प्र.सी.सु. गुल्म वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको निर्देशनमा तस्करी नियन्त्रणमा देखिएको तीव्र सक्रियता र सतर्कताले सीमावर्ती क्षेत्रमा गैरकानुनी क्रियाकलापहरूमा उल्लेखनीय रोक लगाएको देखिन्छ । अवैध निकासी र चोरी पैठारीजस्ता गतिविधिलाई रोकथाम गर्दै राष्ट्रको आर्थिक सुरक्षामा योगदान पुर्‍याउने कार्यमा डिएसपी सुब्बाको नेतृत्व उदाहरणीय रहेको छ ।

सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले दिएको जानकारीअनुसार, सशस्त्र प्रहरी बल पर्साको टोलीले सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा देखाएको तत्परता र निष्ठा सराहनीय छ ।

यस प्रकारका निरन्तर प्रयासहरूले सीमाक्षेत्रको शान्ति, सुरक्षा तथा आर्थिक अनुशासनलाई सुदृढ गर्दै लैजाने निश्चित देखिन्छ ।