कार्तिक १०, बारा जिल्लाको कलैया उपमहानगरपालिकामा सञ्चालित सीमान्तकृत समुदाय लक्षित आवास परियोजनाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पुरस्कार हात पारेको छ । एसियाली स्तरमा प्रदान गरिने 'एसीएचआर कलेक्टिभ हाउजिङ अवार्ड २०२६' (ACHR Collective Housing Award 2026) नेपालको उक्त परियोजनालाई संयुक्त रूपमा प्रदान गरिएको हो ।
कलैया उपमहानगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार र सुरक्षित आवास निर्माणमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
थाइल्यान्डमा आयोजित एक विशेष समारोहका बीच थाइल्यान्डका उपप्रधानमन्त्री तथा सामाजिक विकास र मानव सुरक्षा मन्त्री निकर्न सोइमक्लाङले उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । परियोजना सञ्चालकहरूको प्रतिनिधित्व गर्दै दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष सम्भा कुमारीले उक्त अवार्ड ग्रहण गर्नुभएको हो ।
कलैया उपमहानगरपालिका, शहरी गरिबी निवारण मञ्च, र दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त सहकार्यमा 'Housing Support for Marginalized Families' परियोजना विभिन्न चरणमा सञ्चालन गरिएको थियो ।
विपन्न परिवारहरूलाई सुरक्षित, मर्यादित र सम्मानजनक आवासको पहुँच सुनिश्चित गर्नका लागि दीपशिखा सहकारीले आवश्यक ऋण तथा वित्तीय सहजीकरण उपलब्ध गराएको थियो भने लुमन्ती आवासका लागि सहयोग समूह र कलैया उपमहानगरपालिकाले प्राविधिक तथा संस्थागत समन्वय गरेका थिए ।
यो अवार्ड प्राप्तिसँगै कलैयामा स्थानीय स्तरबाट विपन्न वर्गको आवास अधिकारका लागि गरिएको प्रयासले अन्तर्राष्ट्रिय मञ्चमा बलियो पहिचान पाएको छ ।
अवार्ड प्राप्त भएपछि सम्बद्ध संस्थाहरूले संयुक्त रूपमा खुसी व्यक्त गर्दै परियोजना सफल बनाउन सहयोग गर्ने समुदाय, साझेदार संस्था कलैया उपमहानगरपालिका, लुमन्ती समूह, दीपशिखा सहकारी तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गरेका छन् । यस उपलब्धिले आगामी दिनमा पनि सीमान्तकृत समुदायको सशक्तीकरण र दिगो सामुदायिक विकासमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलेको परियोजना पक्षले जनाएको छ ।