९ साउन बीरगंज — प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मधेसको सुख्खाग्रस्त क्षेत्रको "अवलोकन" गरेको दाबी गर्दै एक भ्रमण सम्पन्न गरे। तर, उनको भ्रमणले स्थानीय जनतामा आशा भन्दा बढी आक्रोश र निराशा जन्माएको छ। कारण– प्रधानमन्त्री ओलीले जमिनको समस्या आकाशबाट हेरिदिए।


ओलीले हेलिकप्टर चढेर मधेसको स्थलगत निरीक्षण गरे, तर न त खेतबारी उब्जनीहिनताको पीडा सुने, न त सुख्खाले जर्जर किसानको अनुहार नियाल्न समय निकाल्न सके। आकाशमा चक्कर लगाउँदै सूचनाको आधिकारिक संकलन सम्पन्न भएको भनेर प्रचार गरिए पनि, जमिनमा दुख भोगिरहेका किसान र स्थानीयवासीहरूका लागि यो शुद्ध ‘आवरण’ जस्तो मात्र देखिएको छ।


स्थानीय बासिन्दा मनोज यादव भन्छन्, “हामीलाई पानी छैन, सिंचाइ छैन, धानको बिउ सुक्दै गएको छ, प्रधानमन्त्रीज्यू आउनु त भयो, तर हेलिकप्टरबाट हेरेर के थाहा पाउनु हुन्छ? हाम्रो पीडा त जमिनमा छ, आसमानमा होइन।”

विश्लेषकहरू भन्छन्, प्रधानमन्त्रीको यस्तो व्यवहारले सरकारको जनताप्रति जिम्मेवारीबोधमा प्रश्न उठाउँछ। जसरी आकाशबाट जमिनको धुलो देखिँदैन, त्यस्तै गरी जनताको वास्तविक पीडा पनि नजिकै नगई बुझिँदैन।

सरकारले स्थलगत निरीक्षण, जनसंवाद र प्रत्यक्ष राहत वितरण गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीको ‘सुदूर अवलोकन शैली’ले मधेसका जनतामा गम्भीर असन्तुष्टि जन्माएको छ।

अब प्रश्न उठेको छ — यो सरकार कुन दृष्टिकोणबाट जनताको समस्या बुझ्दैछ? जनताको बीचमा नआई, सल्लाह नगरी, केवल प्रचारमुखी भ्रमणले के देशमा राहत पुग्छ?