हाइप्रोफाइल मुद्दा मानिएका राजपुर बम बिस्फोटन सम्बन्धी घटनामा १७ बर्ष पछि जिल्ला अदालत रौतहटबाट विहिवार मोहम्मद आफताव आलम सहित चार जनालाई जन्म कैदको सजाय सुनाएको छ ।


नेपाली काँग्रेसका नेता आफताव आलम निजका भाई महताव आलम सहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दामा गत सोमवार देखि चल्दै आएको बहस आज विहिवार दिउसो ३ बजे सकेको थियो ।


रौतहट जिल्ला अदालतका एक नम्वर इजलाशका न्यायाधिश मातृका प्रसाद आचार्यको एकल इजलासमा भएको वकिलहरुको बहस बादी पक्षबाट तिन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए । 


बहस सकेपछि आफताव आलम, भाई महताव आलम, मुक्ति साह र शेख सेराजलाई जन्म कैद र बद्री सहनी लाई सफाई दिइएको तथा फरार रहेका ६ जनालाई मुल्तवीमा राखिएको सजाय सुनाइएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।


वादी पक्षबाट सरकारी वकिल कार्यालयका पुष्पराज पौडेल, वद्री कार्की र दयानिधि रिजालले बहस गरेका थिए भने वरिष्ठ अधिवक्ता एवं पूर्व पुनरावेदन अदालतका मुख्य नायाधिश मोहम्मद साविर हुसेन, बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, अजय पटेल, आफताव आलम, यदुनाथ खनाल, मजरुल हक, लालबाबु यादव र अनन्त अधिकारीले प्रतिवादीबाट बहस गरेको थियो ।


२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप श्रीनारायण प्रसाद सिंह सहितले लगाएर मुद्दा दर्ता गराएका थिए । 


सोही मुद्दाको अन्तिम किनारा लगाउन पटक पटक पेशी सर्दै आएको थियो । नेता आलम अहिले केन्द्रीय कारागारको थुनुवा कक्षमा कैदीबन्दी सरह जिवन व्यतित गर्दै आएका छन् ।