६ असार बीरगञ्ज - कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री साहले उनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको बताइन् ।अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको बताइन् ।उनले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने बताइन्।
प्रतिनिधिसभामा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री साहले भनिन्, 'चालु आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट जम्मा ६ लाख मेट्रिक टन मलको लागि टेण्डर आहृवान भएको छ । २०८१ जेठ २८ सम्म ३ लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा ३ लाख ६७ हजार मेट्रिक टन मल बिक्री वितरण भएको छ । गत वर्ष समेतको गरी ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुात रहेको छ । '
मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताइन्। मन्त्री साहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि समयमै प्रक्रिया आरम्भ गर्नुपर्ने बताइन्।