३ असार वीरगंज – सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ठूलो मात्रामा मल्टिभिटामिन ट्याब्लेट बरामद गरेको छ।


सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१ छप्कैयाबाट २ वटा मोटरसाइकलमा लोड गरी भन्सार छलि ल्याइँदै गरेको RIVITROL-CM multivitamin Tablet का १०१८ डिब्बा नियन्त्रणमा लिएको हो। बरामद औषधिको अनुमानित मूल्य रु. १०,१८,०००।– रहेको बताइएको छ।

सशस्त्र प्रहरीले उक्त अवैध औषधि र तस्करीमा प्रयोग भएका दुईवटा मोटरसाइकल समेत आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहका अनुसार भन्सार छलि गरि औषधि तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सतर्कताका साथ सीमामा निगरानी गरिरहेको बताउँनु भयो ।