बीरगंज, ०२ चैत,

सशस्त्र प्रहरी बल नेपाल, बी.ओ.पी. ड्राई पोर्टले आज बिहान बीरगंज महानगरपालिका-२५, खल्वा टोलस्थित रेल लिगबाट १२५ किलो प्रतिबन्धित भारतीय तयारी कुखुरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ५ जनाको सीमा अनुगमन तथा पैदल गस्ती टोलीले बिहान करिब ०८:५० बजे भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको उक्त प्रतिबन्धित बोईलर कुखुरा बरामद गरेको हो ।

अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको कुखुरा साइकलमा राखेर ओसारपसार भइरहेको अवस्थामा गस्ती टोलीलाई देखेर सम्बन्धित व्यक्ति कुखुरा र साइकल छोडेर भाग्न सफल भएका छन् । बरामद गरिएको कुखुराको अनुमानित बजार मूल्य रु. ४०,००० रहेको छ ।

सशस्त्र प्रहरी निरीक्षक मल्लका अनुसार बरामद कुखुरा पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, सर्वसाधारण तथा सञ्चारकर्मीहरूको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको छ ।

नेपाल सरकारले भारतीय तयारी कुखुरा आयातमा प्रतिबन्ध लगाएको भए तापनि सिमावर्ती क्षेत्रहरू हुँदै तस्करीका घटनाहरू दोहोरिइरहेका छन् । यस्ता अवैध कार्य रोक्न सुरक्षा निकायहरूले नियमित रूपमा गस्ती तथा निगरानीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।