२०८२ साउन २७ – पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ स्थित ढेँडु खोलामा नुहाउने क्रममा दुई बालकको डुबी मृत्यु भएको छ।

मंगलबार बिहान करिब १०:०० बजे ठोरीमा बसोबास गर्ने मनोज कठायतका छोरा ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयांश कठायत खोलामा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेका थिए। स्थानीयले बालकहरूलाई पानीको सतहमा तैरिरहेको देखेपछि तत्काल उद्धार गरी ठोरी स्वास्थ्य चौकी पुर्‍याए, तर स्वास्थ्यकर्मीले दुबैलाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक मुन्ना साहको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। साथै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काको कमाण्डमा SOCO सहितको मुचुल्का टोली पनि खटिएको थियो। आवश्यक सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी दुबै शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।