फाल्गुन २८, नेपालको संसदीय इतिहासमा पहिलो पटक Trans Woman को आवाज संसदमा समानताको नयाँ अध्याय सुरु
नेपालको लोकतान्त्रिक इतिहासमा आज एउटा महत्वपूर्ण र ऐतिहासिक क्षण थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बाट समानुपातिक सांसदको रूपमा भूमिका श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ नेपालकै पहिलो Trans Woman सांसद बन्न सफल हुनुभएको छ ।
यो केवल राजनीतिक उपलब्धि मात्र होइन, बरु लामो समयदेखि समाजमा उपेक्षित, अपमानित र अधिकारबाट वञ्चित हुँदै आएका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि आशाको नयाँ किरण हो ।
वर्षौँदेखि Transgender समुदायले समाजमा असंख्य पीडा भोग्दै आएका छन् ।
कहिलेकाहीँ परिवारबाटै अस्वीकार, विद्यालयमा अपमान, रोजगारीमा भेदभाव, सार्वजनिक स्थानमा हेपाइ र हिंसा — यी सबै पीडाहरू धेरै Trans व्यक्तिहरूको दैनिक जीवनको यथार्थ बनेको छ ।
कतिपयले आफ्नो पहिचानका कारण घर छोड्न बाध्य हुनुपरेको छ ।
कतिपयले शिक्षाको अवसर गुमाएका छन् ।
कतिपयले सम्मानजनक काम नपाएर अप्ठ्यारो परिस्थितिमा जीवन बिताउनुपरेको छ ।
यस्तो कठिन परिस्थितिबाट पनि आफ्नो पहिचान, अधिकार र सम्मानको लागि निरन्तर संघर्ष गर्दै आएको समुदायका लागि आजको दिन ऐतिहासिक उपलब्धि हो ।
भूमिका श्रेष्ठको संसद प्रवेश केवल व्यक्तिगत सफलता मात्र होइन, यो समाजले परिवर्तनतर्फ लिएको महत्वपूर्ण कदम हो। उहाँ अब संसदमा केवल एउटा प्रतिनिधि होइन, तर हजारौँ Transgender नागरिकहरूको आवाज, पीडा र आशाको प्रतिनिधित्व गर्ने प्रतीक बन्नुहुनेछ ।
समाज परिवर्तन एकै दिनमा सम्भव हुँदैन। तर जब संसद जस्तो सर्वोच्च नीतिनिर्माण स्थलमा विविध पहिचान र अनुभव भएका व्यक्तिहरू पुग्छन्, तब वास्तविक समावेशी लोकतन्त्रको निर्माण सम्भव हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ले समावेशी लोकतन्त्रको उदाहरण प्रस्तुत गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्वको अवसर दिएको छ । यसले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको छ राजनीति सबैका लागि हो।
अब अपेक्षा छ कि भूमिका श्रेष्ठ ले संसदमा आफ्नो उपस्थितिमार्फत लैंगिक समानता, मानव अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अवसरका विषयलाई बलियो रूपमा उठाउनुहुनेछ ।
यो जीत एउटा व्यक्तिको मात्र होइन।
यो वर्षौँदेखि मौन बस्न बाध्य पारिएका आवाजहरूको जीत हो ।
यो सम्मान र समानताको लागि गरिएको संघर्षको जीत हो ।
आजको यो ऐतिहासिक क्षणले एउटा सन्देश दिएको छ
पहिचान फरक हुन सक्छ, तर अधिकार सबैका समान हुन्छन् ।