अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ

उक्त रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ । उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ५० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो

प्रमुख पावरले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, युवाहरूको सशक्तिकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको बताउनुभयो । यस कार्यमा अमेरिकाको साझेदारी रहने उहाँको भनाइ छ । मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी पावरको भनाइ थियो

मंगलबार घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको जनाइएको छ । नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्ट लगायतका सरकारी प्राथमिकताहरूसँग सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायहरूसँगको साझेदारीमा काम गर्न आफुहरु तयार रहेको पावरको भनाइ छ

उहाँ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को सदस्य पनि हुनुहुन्छ । नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।