२० असोज बीरगंज -मुलुकमा शान्ति सुरक्षा कायम गर्दै जनताको सेवामा निरन्तर समर्पित नेपाल प्रहरीले पुनः एकपटक मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा बिर्तावाडा प्रहरी कार्यालय, वीरगञ्जले हालैको अविरल वर्षाबाट प्रभावित बाढी पीडित परिवारलाई खाना तथा खाजाको वितरण गरेको छ।


बाढीले घरबार विस्थापित बनेका स्थानीय बासिन्दालाई राहतस्वरूप बिहान र बेलुका दुवै समयमा पकेट खाना वितरण गरिएको थियो। प्रहरी टोलीले स्थानीय बस्तीमै पुगेर मुस्कानसहित सेवा प्रदान गरेको थियो।

प्रहरी निरीक्षक निरोज चौलागाईले भने, “मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ। सेवा सानो वा ठूलो होइन, इमान्दारी र खुसीपूर्वक गरिएको प्रत्येक कार्य नै धर्म हो।”

उनको नेतृत्वमा गरिएको यो मानवीय कार्यले समाजमा प्रहरीको जनमैत्री छवि झन् मजबुत बनाएको छ। स्थानीय बाढीपीडितहरूले भनेका छन्, “दुःखको समयमा पाएको सहयोगले ठूलो राहत मिल्यो। प्रहरी उपरीक्षक निरोज चौलागाई र उनको टोलीप्रति हामी हृदयदेखि आभारी छौं।”

नेपाल प्रहरीको यो पहलले स्पष्ट रूपमा देखाएको छ कि “सेवामा नै धर्म छ, मानवतामा नै महानता छ।”