डिएसपी सुब्बाको 'सर्च अप्रेसन' ले तस्करहरू त्रसित - बीरगंजमा अवैध रूपले भित्र्याइएका सामानहरू धमाधम बरामद गरिँदै
२४ माघ बीरगंज - सीमा सुरक्षा गुल्म, बीरगजंका गुल्मुपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले बीरगंज बाट पूर्ण रूपले तस्करी नियन्त्रणका लागि 'सर्च अप्रेसन’ अभियानमा अझ बढी कडाई गरी बीरगंजमा अवैध रूपले भित्र्याइएको मालसामान धमाधम बरामद गरिरहेका छन्।
आज बिहीबार बिहान ८ बजे बीरगंज महानगरपालिका - १५ स्थित त्रिभुवन राजमार्गको प्रतिमा चौकमा खान तलासीको क्रममा अवैध रूपले भन्सार छली भित्र्याइएको विभिन्न ब्रान्डका मोबाइल डिस्प्ले लगायत तामाको तार बरामद गरिएको छ।
डीएसपी सुब्बाको नेतृत्वमा खटिएको ११ जनाको मोबाइल गस्ती टोलीले भारतबाट अवैधरुपमा भन्सार छली चोरी पैठारी गर्दै नेपाल भित्र्याउँदै गरेको रु.४ लाख बराबरको विभिन्न ब्रान्डको मोबाइल डिस्प्ले र तामाको तार फेला परेको हो । उक्त समान बीरगंज बाट पथलैया तर्फ जाँदै गरेको सवारी साधनलाई चेकजाँच गर्ने क्रममा यी सामानहरू फेला परेका थिए।बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरीएको भन्सार कार्यालयमा बुझाइएको डीएसपी सुब्बाले जानकारी दिए।
भारतबाट तस्करले विभिन्न नयाँ तरिका अपनाउँदै नेपालमा गर्ने तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल सक्रिय रहेको बताउँदै डिएसपी सुब्बाले दैनिक तस्करी हुने गरेकोले हामी सक्रिय भएका छौँ, हामीले सूक्ष्म ढङ्गले निगरानी बढाएका छौँ।” समययता बढेको तस्करीको जालो टुटाउन आफूहरू केन्द्रित भएको बताउनुभएको छ ।